कविता
एकल यात्री
पर्खाई तिम्रो हुन्छ,अनि अन्त्यमा एक्लो हुन्छु म,
तिम्रा गोरेटोहरुमा चौबाटाहरु धेरै रहेछन्
त्यो गल्ली मेरो हैन अब,म अटाउन्न त्यहाँ ,
त्यो अर्कैको बासस्थान हो,भो म अटाउँदिन त्यहाँ ।
यो एक बाटोनै घुमिरहेछ मलाई,
तिम्रा सडकहरु के सक्थे र म हिड्न ।
फराकिलो भएर के गर्नु र?
खुट्टा नअटाउने खुड्किलाहरु ।
खुट्टा समाउछौ अनि हिँड् भन्छौ,
म कोशिस गरिरहेछु असम्भव हिँडाइहरु ।
उभिन्छु अनि लड्छु,मलाई धुलोको
चुम्बन प्यरो लाग्छ आजकल ।
रित्ता हुन्छन् तिम्रा बाहुहरु तर मलाई उठाउनन् ।
गन्तव्यबिहिन भुमरीमा घुमिरहेछु,
यही मेरो आफ्नो बन्छ आजकल।
हावाको बेगमा रुमलिएर अलप भूमरीको एक कण म ।
तिम्रो साथ भन्दा तिम्रो कल्पना प्रीय छ मलाई,
आशा भन्दा निराशा नजिक छ मलाई,
अनि तिमी भन्दा,त्यही नजिक बन्दछन् सँधै,
आखिर पर्खाईको एकल यात्री म ।
चौतारीले गिज्याउँछ मलाई आजकल,
एक्लो थियो सुनसान चौतारी,
अहिले उसको सखी छु म,
उसको भाषा बुझ्दछु म आजकल र उसले मेरो,
सायद तिम्रा गल्ली र मोडहरुले मेरो ठेगाना भुलीसकेछ ।
म एकल यात्री तिम्रो पर्खाइको ।
तिम्रो गोरेटोमा नयाँ बाटो जोडिएको छ रे,
मेरो त गन्तब्य मेटिदैछ ,
एकल यात्री म,तिम्रो पर्खाइको ।
युवराज अर्याल,श्रीअन्तु,इलाम
Comments
Post a Comment