Posts

Showing posts from May, 2020
नसालु ती आँखा तिम्रा हेर्दा हेर्दै ढल्छु म त, अरुलाई  नहेर है, भित्र -भित्रै जल्छु  म त । कति  राम्रो ओठ रैछ त्यो  लालीले सुहाउने, उनको छेउ बस्दाबस्दै थाहै नपाई गल्छु म त । सपनीमा बोलाउने याद  होकी  तिमी नै हो? बिपनीमा नबोलाए तस्वीर सँगै बल्छु म त । रिसाएनी  माया  देख्छु  पुष्परुपी मुहारमा , परेली त्यो भिजाउने  शीत  सँगै झर्छु म त । सँधै  साथ  बसिदेउ, अरु केही  चाहिदैन, उनी माथी लोलाउने,घम पनि छल्छु म त ।                    युवराज अर्याल-२०६६/०२/१२
छेउमा आउँदा पर सर्ने बानी मनपर्यो, त्यही बानीले लजाउने सानी मनपर्यो । बुझ्नलाई  नसकिने परेलीका भाखाहरु, त्यही भाखामा सजिएकी नानी मनपर्यो । प्रकृति नै  रमाउने  गगनका  बर्षाहरु, त्यही बर्षामा उनी रुझ्ने पानी मनपर्यो । औँशीको रातलाई ज्योती दिने मुहारमा, चौबन्दीमा  सजिएकी  रानी मनपर्यो । चन्द्ररुपी मुहार अनि नाकबेली केशहरु, माया  सँगै  प्रेम  दिने खानी  मनपर्यो ।                युवराज अर्याल
करोड दिन्छु भन्छौ तिमी,धनले हुन्न माया, हजारौँमा एक हुँ भन्छ्यौ,जनले हुन्न माया । संसार संग मायालाई जोख्नु  पर्यो किन ? खरिद बिक्री ब्यपारमा झैँ,टनले हुन्न माया । उसको निम्ति बाँचेको छु भन्न छाडे हुन्छ, एकोहोरो इच्छा अनि ,मनले  हुन्न माया । देउराली देवीथानलाई भाकल गर्छौ किन ? मनकामना, पशुपति भगवानले हुन्न माया । दुई मुटु र मनहरु आत्मा  बाटै जोडिन्छ रे, यौवनको उल्लास अनि, तनले हुन्न माया ।                                                    युवराज अर्याल
बेरोजगारहरुको  मेला  छ शहरमा, ऎन अनि कानुनको ठेला छ शहरमा । एउटा लडाई अर्कोलाई माथी पुर्याउन, ढाल्ने अनि ढलाउने खेला छ शहरमा । यता  पनि  उस्तै, उता पनि उस्तै उस्तै, असारको खेती जस्तो बेला छ शहरमा । अज्ञानी अन्जान त कसले ठान्छ आफुलाई, जो कोही गुरु बन्छन्,को चेला छ ?शहरमा । पूर्व  पश्चिम उत्तरका सबै बस्ने त्यही ठाउँ, भिडमभाड र ब्यस्तताले  रेला छ शहरमा ।                         युवराज अर्याल